वार्ता [News]
नवनियुक्त विभागीय प्रमुख डा. माधवप्रसाद उपाध्यायज्यूको इच्छाबिन्दुबाट संस्कृत केन्द्रीय विभागमा एउटा नयाँ अध्यायको थालनी भएको छ । आधुनिक संसारको प्रमुख आकर्षण बनिरहेको प्राच्य वाङ्मयमा निहित ज्ञान–विज्ञानप्रति समाजलाई सुसूचित एवम् अभिप्रेरित गर्ने उद्देश्यले यस विभागद्वारा नेपालराष्ट्रका गौरव विद्वच्छिरोमणि पं. कुलचन्द्र गौतमको संस्मरणमा शास्त्रीय व्याख्यानमालाको प्रारम्भ भएको छ ।
यस व्याख्यानमालाको शुभारम्भ एक विशिष्ट सन्तको प्रवचन तथा सामूहिक अन्तःक्रियाबाट गर्न पाउँदा हामी सबै विभागपरिवार अत्यन्तै हर्षित छौँ । यस मासिक प्राज्ञिक समारोहको शुभारम्भको गरिमाका निम्ति हाम्रो आमन्त्रणलाई स्वीकार गरी पाल्नुहुने श्रद्धेय सन्त श्री १००८ डा. स्वामी केशवानन्द गिरिज्यू, प्राध्यापकज्यूहरू, अन्य अतिथिगण, जिज्ञासु छात्रवृन्द एवं समाचार प्रकाशित गरिदिनुहुने सञ्चारमाध्यम सबै सबैप्रति हार्दिक साधुवाद । विजयतां संस्कृतम्…